nanu

अनलाइन शिक्षाको प्रभावकारीता र चुनौती

विचार / ब्लग
Read Time:7 Minute, 8 Second

✍️ नानु कोइराला

अहिले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको  कोभिड-१९ (कोरोना भाइरस) ले लाखौँ मनिसको ज्यान लिइसकेको छ। त्यसमा कैयौँ नेपालीहरु पनि संक्रमित छन् भने केहीले ज्यान पनि गुमाईसकेका छन्।

हालसालै नेपालमा पनि सैयौँको संख्यामा संक्रमित फेला परेको छ भने लामो समयदेखि लम्बिरहेको लकडाउनका कारण जनजीवन अस्तव्यस्त बनिरहेको छ।

यसको साथसाथै एकातिर शैक्षिक वर्ष सुरु हुन नपाउँदै विद्यालय बन्द गरि बस्नुपर्दा विद्यालय संचालकरुले ठूलो नोक्सान बेहोर्नु परिरहेकै छ भने अर्कोतिर आफ्नो छोराछोरीको उज्वल भविष्यको सपना बोकी खाईनखाई बिरानो सहरमा जुधिरहेका अभिभावकहरुमा झनै पीडा थपिएको छ।

हुनै लागेको एसइई परिक्षा समेत स्थगित भएका कारण विद्यार्थीहरु चिन्तित त छन् नै, अझ सामाजिक संजालमा छ्याप्छ्याप्ती आएका भ्रमित तुल्याउने खालका समाचारहरुले विद्यार्थीहरुमा थप अन्योल पैदा गरिरहेको छ।

लम्बिरहेको लकडाउनकै कारण दैनिक मजदुरी गरि जिविकोपार्जन गर्ने अभिभावकहरु आफ्नो गाँस र बासको व्यवस्था ठप्प हुने त्रासले आफ्ना लालाबाला डोहोर्‍याउदै कैयौं दिन लगाएर पैदल यात्रा गरि भोक-भोकै गाउँ गाउँसम्म पुग्न बाध्य भएका छन्।

यहीँ परिस्थितिमा शैक्षिक सत्र सुरु हुँदा-नहुँदै सहरका धेरै निजी विद्यालयहरुले अनलाइन कक्षा संचालनमा ल्याइरहेका छन्। अनलाइन कक्षामा आफ्नो पहुँचमा रहेका विद्यार्थीहरुलाई ध्यानाकर्षण गरि अभिभावकहरुसँग सहकार्य गर्दै घरमा बसिरहेका विद्यार्थीहरुलाई यो समय कसरी प्रभावकारी बनाउन सकिन्छ?

र आफ्ना नानीबाबुहरुलाई कसरी जिवनउपयोगी शिक्षा दिन सकिन्छ? भन्ने विषयमा केही सृजनात्मक कार्यहरुको खोजी गर्दा धेरै प्रभावकारी हुन्थ्यो कि? तर यो नभई धेरै निजी विद्यालयहरुले पाठ्यपुस्तक किन्न लगाइ अनलाइन कक्षामार्फत पाठ्यक्रम समेत अघि बढाइरहेको देखिन्छ।

इन्टरनेटको पहुँचमा भएका विद्यार्थीहरुलाई यसो गरिरहँदा, आफ्नो जीवनरक्षा र गाँस बासकै चिन्ताले पिल्सिएका अभिभावक र विद्यार्थीहरुमा कस्तो असर पर्ला भन्ने विषयमा पनि ध्यानाकर्षण गरिदिए राम्रो हुन्थ्यो कि? यस्तो जटिल परिस्थितिमा मानिसको प्रहिलो आवश्यकता शिक्षा नभई जीवनरक्षा र  गाँसबास नै हो भन्दा दुविधा नहोला।

बालबालिकाहरुको लागि घर नै पहिलो विद्यालय हो र घरमा भएका सरसामान नै उनिहरुको प्रयोगात्मक परीक्षण गर्ने स्थल बन्न सक्छ। जस्तै- एउटा भान्सा कोठामा नै विद्यार्थीहरुलाई प्रयोग गर्न लगाउने हो भने त्यसबाट गणित, विज्ञान,  भाषा, सामाजिक विकासका साथै उनीहरुको भावनात्मक सम्बन्धको सन्तुलित विकास घरबाटै निर्माण गर्न सकिन्छ। यसका लागि अभिभावक एक असल शिक्षक पनि हो भन्ने कुराको अनुभूति हुनु जरुरी देखिन्छ।

एक असल नागरिक बन्न शिक्षासँगै सस्कार र नैतिकता महत्त्वपूर्ण छ र यसका लागि अभिभावकको नै महत्त्वपूर्ण भूमिका देखिन्छ। अनलाइन कक्षाको औचित्यको कुरा गर्दा माथिल्लो कक्षाका अथवा १२ वर्षभन्दा माथिका विद्यार्थीहरुमा यसले केही हदसम्म प्रभावकारी बनाउन सक्ला।

उनीहरुले व्याख्यान विधिबाट थोरै मात्रामा भएपनि सिक्न सक्ने कुरा विभिन्न अनुसन्धानकर्ताहरुको राय छ। यसमा पनि परिवारसँगै सम्बन्धित केही खोजमूलक र सृजनात्मक कार्यमा संलग्न गराउँदा उनीहरुले सिकेको  पुर्वज्ञानको उचित जीवन उपयोगी अभ्यास गर्ने अवसर पनि बन्न सक्थ्यो ताकी अनलाइनको पहुँचबाहिर रहेका विद्यार्थी तथा अभिभावकहरुमा पनि सकारात्मक प्रभाव परोस्।

तर कक्षा नर्सरीदेखि अथवा १२ वर्षभन्दा मुनिका नानीबाबुहरुका लागि पनि अनलाइन कक्षा संचालनमा ल्याइएको देखिन्छ। अनुभव र प्रयोगात्मक विधिबाट सिक्ने उमेरमा व्याख्यान विधिबाट सिकाइरहँदा कत्तिको उपयोगी बन्न सकिरहेको छ त?

अब यसो गरिरहँदा यसमा रहेका चुनौतीका विषयमा ध्यानाकर्षण भएजस्तो लग्दैन। अहिले नेपालमा रहेका सबै विद्यार्थीहरुको पहुँचमा इन्टरनेट सुविधा छ त? सबै विद्यार्थी तथा अभिभावकहरुको हात-हातमा स्मार्ट फोन होला त? र सबै विद्यार्थीहरुको घरमा ल्यापटप होला त?

यी सबै बिना अनलाइन कक्षा सम्भव छ जस्तो लाग्दैन। बिहान-बेलुका हातमुख जोर्न र जीवन रक्षाका लागि भौतारिरहेका अभिभावकका लागि यी सब कुन चराको नाम हो सायद थाहा छैन होला। यदि त्यसो हो भने शिक्षा पहुँचवालाका बालबालिकाहरुले मात्र  लिन पाउने हो त?

आफ्नो जीवन रक्षाका लागि कैयौं दिन लगाएर आफ्नो बासस्थान पुगेर सजिलो सास फेर्न नपाउँदै सहरमा चलिरहेको अनलाइन कक्षाले अप्रत्यक्ष रुपमा बोलाईरहेको छ भन्दा फरक नपर्ला। सम्पूर्ण विद्यालयहरुले कुनै पनि कार्यक्रम ल्याउँदा सबै स्तरका विद्यार्थीहरुलाई मध्यनजर गर्दै शिक्षाको समान अवसर भन्ने नरालाई यथार्थमा सार्थक बनाउन सके राम्रो हुन्थ्यो कि?

2 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *