काठमाडौं फेरि बन्यो संसारकै नम्बर एक प्रदुषित सहर

Trending समाचार
Read Time:14 Minute, 29 Second

प्रेम जैरु : देशभरि फेरि वायु प्रदुषणको मात्रा ह्वात्तै बढेको छ। बुुधबार साँझ पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदषण केही घटे पनि आइतबारदेखि फेरि बढेको हो। 

invotech

स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार सोमबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३३१ छ र काठमाडौं संसारकै धेरै वायु प्रदुषण भएको सहरको सूचीमा पहिलो नम्बरमा छ।

वातावरण विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ। धनगढी एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४२९ पुगेको छ। दोस्रो नम्बरमा चितवनको भरतपुर छ। त्यहाँको एक्युआई ३९८ छ भने तेस्रो नम्बरमा ललितपुरको भैंसेपाटीमा एक्युआई ३२५ छ।

वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ।

bidh lab box ad 5

एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि  जानुचाहिँ घातक हो। 

विज्ञहरूले सुख्खा हिउँद,  अत्याधिक डढेलो, कमजोर पश्चिमी वायु र धुँवा-धुलो प्रदुषण बढेको बताएका छन्।

वायु प्रदुषणले खतराको तह पार गरेपछि गत साता सरकारले देशभरिका विद्यालय बन्द गरेको थियो।

आइतबारदेखि विद्यालय फेरि खुले पनि प्रदुषण फेरि ह्वात्तै बढेको छ।

ncell in

विज्ञहरूले वायु प्रदुषणको असरबाट जोगिन सकभर घरबाहिर ननिस्किने, निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्ने, बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्नुपर्ने सुझाव दिएका छन्।

यो पनि पढ्नुस्:  प्रकृति, हामीलाई झमझम पानी देऊ कि बेजोड हावा!

वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ मंगलबार घरनजिकैको मेडिकलमा गए। आँखा पिरो भएको निको पार्ने औषधी किनेर फर्किए। केही दिनयता श्रेष्ठजस्तै काठमाडौंवासी धेरैले आँखा पोल्ने, खोकी लाग्ने, नाक चिलाउने समस्या झेलिरहेका छन्।

काठमाडौंमै जन्मे-हुर्केका ८४ वर्षीय श्रेष्ठले पिरो हावा यति धेरै दिनसम्म काठमाडौंमा बसेको बस्यै भएको थाहा पाएको यो पहिलो पटक हो।

‘यो बेला त हावाहुरी चल्ने, असिना-चट्याङ पर्ने हुन्थ्यो। चैतको महिना रूखका पात पनि नहल्लिने यस्तो भएको मलाई याद छैन,’ श्रेष्ठले सेतोपाटीसँग भने,‘पुस-माघतिर काठमाडौंमाथि चिसो हावाको बिर्को लागेर घाम लाग्दैनथ्यो। चैतमा तुँवालो लाग्थ्यो तर यस्तो आँखा पोल्नेचाहिँ हुन्नथ्यो।’

मध्य चैतमा वायुमण्डलमा आएको यो अप्रत्यासित र अनौठो परिवर्तन के हो, किन र कसरी भयो भन्ने चासो धैरैलाई छ।

यसपालि चैतमा किन यस्तो भइरहेको छ भन्ने प्रश्नका धेरै कुरा प्रकृतिको रहस्यमै छन्। विज्ञहरूले सुख्खा हिउँद, अत्याधिक डढेलो, कमजोर पश्चिमी वायु र प्रदुषणले अहिलेको अवस्था आएको बताएका छन्।

हाम्रो वरिपरि यी चारै कुरा पहिला पनि थिए तर अहिले यिनको किन यस्तो गठजोड बनेको छ कि त्यसले वायुमण्डललाई हलचल हुन दिएको छैन?  हामीलाई सास फेर्न किन गाह्रो परिरहेको छ?

अहिलेको समस्याको प्रमुख कारण यसपालिको सुख्खा हिउँद हो। अनि यो सुख्खा हिउँदमा धेरैतिर लागेको डढेलो हो। अर्थात् यसपालि हाम्रोमा पानी कम र आगो धेरै भएर यो नयाँ र घातक परिस्थिति उत्पन्न भएको हो।

यसपालि पानी कति कम पर्‍यो?

नेपालमा दुईतिरबाट आउने वायुले पानी पार्छन्। असारदेखि कात्तिकसम्म बंगालको खाडीबाट मनसुनी वायु आउँछ। पूर्वबाट पश्चिमतिर फैलिन्छ। तराई र पहाडमा धेरै पानी पर्छ।

जाडोमा जम्मु-कस्मिर हुँदै पश्चिमी वायु नेपाल पस्छ। त्यो वायुले हिमालमा हिमपात, पहाड र तराईमा वर्षा गराउँछ। प्रि-मनुसनको समयमा स्थानीय वायु पनि सक्रिय भएर निश्चित ठाउँमा पानी पर्छ। अपरान्हपछि हावाहुरी चल्ने, असिना-चट्याङ पर्ने हुन्छ।

यसपालि गत अक्टोबरमा मनसुनी वायु नेपालबाट बाहिरिएको थियो। मनसुनी वायु बाहिरिएसँगै नेपालमा पश्चिमी वायुको प्रभाव बढ्छ। तर यो हिउँदमा भने पश्चिमी वायुको त्यो प्रभाव बढेन।

‘अक्टोबरपछि पश्चिमबाट एउटा पनि बलियो प्रणाली आएन। एक-दुई चोटी हल्काफुल्का पानी त पर्‍यो तर देशैभरि एकैसाथ पानी पार्न सक्ने गरी ‘मोइस्चर’ बोकेर हावा आएन,’ मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा तुलाधरले सेतोपाटीसँग भनिन्,‘अहिले प्रि-मनसुन चलिरहेको छ। अझै पनि पश्चिमबाट बलियो प्रणाली आउने कुनै सम्भावना छैन।’

महाशाखाको तथ्यांकअनुसार मंसिर १६ देखि फागुन १५ सम्म काठमाडौं उपत्यकामा औसतमा ४५ मिलिमिटरसम्म पानी पर्छ। यसपालि त्यही अवधिमा ४ मिलिमिटरमात्र पानी परेको छ। अर्थात् काठमाडौं उपत्यकामा औसतभन्दा यसपालि हिउँदमा १० प्रतिशत पनि पानी परेन। यो आफैंमा ठूलो परिवर्तन हो।

मंसिर १६ देखि फागुन १५ सम्म नेपालभरिचाहिँ औसतमा ६० मिलिमिटर पानी पर्ने गरेको तथ्यांक छ। यसपालि देशभरि झन्डै १६ मिलिमिटरमात्र पानी पर्‍यो।

नेपालमा मात्र होइन यो सुख्खाको मारमा हिन्दकुश क्षेत्र नै परेको छ। भुटानदेखि उत्तरी भारत र पाकिस्तानमा पनि यसपालि हिउँदमा कम वर्षा भएको छ।

यसपालि हिउँद यति धेरै सुख्खा किन भयो? यसको ठ्याक्कै कारण विज्ञहरूले पनि फेला पार्न सकेका छैनन्।

‘पोहोर साल हिउँदमा धेरै पानी परेको थियो, यसपालि पर्दै परेन। यो मौसममा वर्षेनी हुने ‘परिवर्तन’ मात्र हो कि जलवायु परिवर्तनको असरले यस्तो भयो? ठ्याक्कै भन्न सकिन्न,’ मौसमविद् तुलाधरले भनिन्,‘यसपालि हिउँदमात्रै होइन चैत-वैशाखको प्रि-मनसुन पनि सुख्खा नै हुने देखिएको छ।’

जमिन पनि राम्ररी भिजाउन नसक्नेगरी गएको हिउँद सुख्खा हुनुको कारण के थियो भन्ने थाहा नभए पनि त्यसको असर भने पुसदेखि नै देखिन थालिसकेको थियो।

पुस सुरू हुँदानहुँदै हिमाली जिल्ला मनाङको जंगलमा भीषण आगलागी भएको थियो। आगो निभाउन सुरक्षाकर्मी र स्थानीयलाई हप्तौं लागेको थियो।

पुसमा हिमाली जिल्लामा सुरू भएको आगो लाग्ने क्रम चैत दोस्रो सातासम्म पुग्दा देशैभरि नै देखिएको छ।

डढेलो विज्ञसमेत रहेका नेपाल सरकारका उपसचिव सुन्दर शर्माका अनुसार नेपालमा मंसिरदेखि जेठसम्म नै डेढेलो लाग्ने गर्छ। त्यसमा पनि मार्च र अप्रिल महिनामा अत्याधिक डढेलो लाग्छ। सबैभन्दा धेरै डढेलो अप्रिलमा लाग्छ।

यसपालि त मार्चको तेस्रो साता नबित्दै नासाको स्याटेलाइटले नेपालको पूर्वदेखि पश्चिमसम्म आगो लागेका राताम्ये तस्बिर खिचेर पठाउन थालिसकेका थियो। स्याटेलाइटको फोटोमा भीरमा र बादलमुनि लागेको आगो भने देखिँदैन।

लामो समय डढेलोको ‘प्याट्रन’ अध्ययन गरेका शर्माका अनुसार यसपालि भने अत्याधिक धेरै डढेलो लागेको छ। अहिलेसम्म मात्रै पोहोरभन्दा १४ गुणाभन्दा बढी डढेलो लागिसकेको उनले जनाए।

‘पोहोर साल मार्च ३० सम्म १ सय ८८ ठाउँमा डढेलो लागेको थियो। यसपालि २ हजार ७ सय १३ ठाउँमा डढेलो लागेको देखिन्छ,’ शर्माले सेतोपाटीसँग भने,‘पोहोर ४० जिल्लामात्र प्रभावित भएका थिए भने अहिले ७३ जिल्लामा डढेलो फैलिएको छ।’

अहिले पनि दाङ, बर्दिया, उदयपुर, सिन्धुली, बाँके, पर्सा, चितवन, सुर्खेत, धादिङ, काभ्रेलगायत जिल्लामा डढेलो जारी छ।

‘हिउँद निकै सुख्खा भयो। बन-जंगलमा ज्वलनशील पदार्थ धेरै जम्मा भयो,’ शर्माले भने,‘एकैचोटी धेरै ठाउँमा लागेको डढेलोले वायुमण्डलमा अत्याधिक धुँवा जम्मा भयो।’

डढेलोबाट आएको यो धुँवा यति धेरै दिनसम्म हामीभन्दा माथि सतहमा बसिरहन सक्दैन्थ्यो। तर यसलाई सतहमै राखिरहन फेरि यसपाली ‘लोसे’ पश्चिमी वायुले भूमिका खेल्यो।

‘अहिले पश्चिमी वायु नेपाली आकाशमा छ, त्यसले पानी पार्ने बादल वा ठूलो हावाहुरी चल्ने प्रणाली विकसित गर्न सकेको छैन,’ मौसमविद् तुलाधरले भनिन्,‘बरू भारतलगायत अरू ठाउँको धुलो बोकेर आइरहेको छ।’

उनका अनुसार सुस्तरी चलेको हावाले पानी पार्ने ‘मोइस्चर’ ल्याउनुको सट्टा धुलो ल्याउने गर्छ।

‘अहिले त्यस्तै हावा आइरहेको छ,’ उनले भनिन्।

अहिले पश्चिमी वायुले ल्याएको त्यही धुलो, हाम्रो देशभित्रकै डढेलोबाट निस्केको धुँवा, सवारी साधन, उद्योग र इँटाभट्टाले फालेको धुँवाधुलो हाम्रो वरिपरि घुमिरहेको छ। त्यसले काठमाडौंसहित देशभरि वायु प्रदुषणको मात्रा ह्वात्तै बढाइदिएको छ।

यसरी अति कम पानी, अधिक ढडेलो र ‘लुते हावा’ का कारण यसपालि काठमाडौं र नेपालका विभिन्न ठाँउमा अप्रत्याशित रूपमा प्रभावित भएका छन्। त्यसको मार हामीले भोगेका छौं।

वातावरण विज्ञ अरनिको पाण्डेका अनुसार अब यो हटेर मौसम सफा हुन कि बेस्सरी हावा चल्नुपर्छ, कि ठूलो पानी पर्नुपर्छ वा चर्को घाम लाग्नुपर्छ।

तत्कालै यी तीनमध्ये कुनै एउटा घटना हुने र हामीले अलिक स्वस्थ हावा फेर्न पाउने सम्भावना न्यून छ। ठूलो हावा र पानीका लागि बलियो प्रणाली छैन। चर्को घाम लाग्न वायुमण्डलमा अहिले जम्मा भइरहेको प्रदुषण हट्नु पर्छ। सतहको प्रदुषण माथि जान फेरि जमिनको सतह तात्नुपर्छ।

‘हामीले गर्न सक्ने भनेको डढेलो कम गर्ने हो। डढेलोको मुख्य याम अझै आउनै बाँकी छ,’ पाण्डेले भने, ‘पहिलो त मान्छेलाई डढेलो लगाउन निरूत्साहित गर्नुपर्छ। दोस्रो, यति धेरै ठाउँमा डढेलो लाग्दा पनि हामी केही गर्न सक्दैनौं। विदेशतिर हेलिकप्टरबाट रसायन फालेर भए पनि आगो निभाउछन्। हामीले पनि त्यतातिर सोच्नुपर्छ।’

योसँगै प्रदुषण कम गर्ने अरू मापदण्ड पनि अपनाउनु पर्ने उनी बताउँछन्।

‘सरकारले अहिले विद्यालय बन्द गरेको छ। तर यसले हामीलाई जोगाउदैन,’ पाण्डेले भने,‘प्रदुषण घटाउनै पर्छ। त्यसका लागि निश्चित उद्योग बन्द गरेर सवारी साधन कम चलाउनेलगायत उपाय लगाउनु पर्छ।’

यी काम हामी कति गर्न सकौंला र यिनले कहिले परिणाम निकाल्लान्? तत्काललाई भने हामीले यो धुमिल आकाश फेर्न केही गर्न सक्ने छैनौं। त्यसका लागि भने हामी प्रकृतिको अपार लीलामै भर पर्नुपर्छ।

प्रकृति, हामीलाई झमझम पानी देऊ कि बेजोड हावा!  

0 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *